उत्तर कोरियाविरुद्ध पञ्जा कसिँदै, युद्धको स्थिति बन्यो

0
123

काठमाडौं, चैत ३१ — उत्तर कोरियाविरुद्ध कुनै पनि किसिमको आक्रमण गर्नुअघि अमेरिकाले आफूसँग सल्लाह गर्ने दक्षिण कोरियाले बिहीवार बताएको छ । उता चीनले भने उत्तरलाई थप सुरक्षा चाहिने भए आणविक कार्यक्रम बन्द गर्न आग्रह गरेको छ ।

अमेरिकाको क्षेप्यास्त्रवाहक जहाज कोरियाली प्रायद्वीपमा घुमिरहेको अवस्थामा उत्तरले छैठौं आणविक परीक्षण गर्न लागेको र अझै धेरै क्षेप्यास्त्र प्रहार गर्न सक्ने चिन्ता व्यक्त गरिएको छ ।
अमेरिका र उत्तर कोरियाका बीचको तनाव बढेपछि चीनले शान्तिपूर्ण समाधानको आह्वान गरेको छ । चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्रका रूपमा रहेको ग्लोबल टाइम्सको सम्पादकीयमा उत्तर कोरिया र उसका सर्वोच्च नेता किम जोङ–उनले आणविक कार्यक्रम बन्द गर्नुपर्ने लेखेको छ ।

जापानी प्रधानमन्त्री शिन्जो अबेले देशको संसदमा बोल्दै प्योङयाङसँग विषालु सरिन ग्यासले भरिएका क्षेप्यास्त्र प्रहार गर्ने क्षमता भएको बताए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका उत्तेजक क्रियाकलापलाई नसहने बताइरहँदा अमेरिकी अधिकारीहरू चाहिँ उसविरुद्ध थप कडा आर्थिक प्रतिबन्ध लगाउनमा जोड दिइएको बताउँछन् ।

चीनले उत्तर कोरियाबाट आउने कोइलाका जहाज उतै फर्काइदिएको दाबी गर्दै ट्रम्पले उत्तरलाई तह लगाउन यो उचित कदम भएको बताएका छन् । यसबाट क्रुद्ध किमले थप आणविक परीक्षण गर्न सक्ने सम्भावना छ ।
एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here