अतिक्रमित वन क्षेत्रमा धमाधम पूर्वाधार विकास हुँदै

0
217

रसुवा, चैत २२ – राष्ट्रिय वन अतिक्रमण गरेर बसेको बस्तीमा विकास निर्माणको कार्य सुरु भएको छ । वन अतिक्रमण व्यवस्थापन समिति रसुवाले अतिक्रमित वन क्षेत्र खाली गराउन लागिरहेको अवस्थामा अन्य निकायले विकासका पूर्वाधार निर्माण थालेका छन् ।

अतिक्रमित क्षेत्रमा विद्युतीकरण, सडक निर्माण र विद्यालय निर्माण भइरहेको छ । जिल्लाको गोसाइँकुण्ड, उत्तरगया र आमाछोदिङ्मो गाउँपालिकामा ३६ हेक्टर वन अतिक्रमण भएको छ । वन अतिक्रमण गरेर एक सय ७१ घरधुरी बसिरहेका छन् ।

जिल्लाको उत्तरगया गाउँपालिका–१ बौसेमा २६.३३ हेक्टर, गोसाइँकुण्ड–१ नागथलीमा १.२७ हेक्टर वन क्षेत्र अतिक्रमण भएको जिल्ला वन कार्यालय रसुवाको तथ्याङ्क छ ।

त्यसैगरी आमाछोदिङ्मो गाउँपालिका–२ घ्याङमा १.२१, वडा नम्बर ३ गोदाममा ५.४१, वडा नम्बर ४ बाहुनडाँडामा ०.१३८ र वडा नम्बर ५ तातोपानीमा १.९२ हेक्टर वन अतिक्रमण भएको छ ।

बौँसेमा ९०, तातोपानीमा ४८, गोदाममा १४, घ्याङमा ८, नागथलीमा ६ र बाहुनडाँडामा ५ घरधुरी वन अतिक्रमण गरि बसिरहेका छन् । अतिक्रमित क्षेत्रमध्ये तातोपानी क्षेत्रमा सडक निर्माण र चिलिमेमा विद्यालय निर्माण भइरहेको छ भने अन्य क्षेत्रमा विद्युत सेवा पु¥याइएको छ ।

२०५१ सालमा उत्तरगया गाउँपालिका–१ बौसेमा २६.३३ हेक्टर वन क्षेत्र अतिक्रमण भएको कार्यालयले जनाएको छ । वन अतिक्रण पाँच वर्षभित्र हटाइसक्ने जिल्ला वन अधिकृत हरिशचन्द्र सापकोटाले बताउनुभयो । ‘हामीले पञ्चवर्षिय योजनामा वन अतिक्रण हटाउने लक्ष्य राखेका छौँ, अधिकृत सापकोटाले भननुभयो, यसका लागि आवश्यक तयारी गरिरहेका छौँ ।’

जिल्लाले वन अतिक्रमण हटाउने कार्य योजना बनाए पनि केन्द्रले आवश्यक वजेट नपठाउँदा समस्या आएको कार्यालयले जनाएको छ । सीमित जनशक्ति, वजेटको अभाव, अन्य निकायसँग प्रभावकारी समन्वय नहुँदा बस्ती हटाउने कार्य जटिल बन्दै गएको छ ।

वन अतिक्रमण हटाउन २०६८ सालदेखि अभियान सुरु भएको थियो । करिब ७ वर्षमा समितिले प्रचारप्रसारका कार्यक्रम सञ्चालन गर्ने र अतिक्रमित क्षेत्रमा जग्गा खाली गर्न सूचना टाँस गर्ने कार्य मात्रै गर्न सकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here