रसुवाबाट पहिलो पटक मन्त्री बनेका आचार्यको निधन

0
1272

रसुवा, असोज ३१ – रसुवाबाट पहिलो पटक मन्त्री बनेका रामकृष्ण आचार्यको मंगलबार बिहान निधन भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक सदस्य समेत रहेका आचार्यको महाराजगञ्ज कपनमार्गस्थित निवासमा निधन भएको हो ।

उनी लामो समयदेखि फोक्सोको क्यान्सरले पीडित रहेका पारिवारिक स्रोतले जानकारी दिएको छ । रसुवा जिल्लाबाट पञ्चायतकालमा दुई पटक र त्यसपछि एक पटकगरी तीन पटकसम्म सांसद जितेका आचार्य पाँच पटक मन्त्री बनेका थिए । उनले जिल्लाबाट २०४३, २०४८ र २०५१ सालमा चुनाव जितेका हुन् ।

२०४३ सालदेखि निरन्तर तीन पटकसम्म चुनाव जितेका उनले स्थानीय विकास राज्यमन्त्री, स्थानीय विकास मन्त्री, कृषि विकास मन्त्री, विनाविभागीय मन्त्री र विज्ञान तथा प्रविधिमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।

लोकेन्द्रबहादुर चन्द निकट रहेका आचार्य पार्टीको केन्द्रिय सदस्य समेत बनेका थिए । २०५१ सालपछि उनी राजनीतिक क्रियाकलापमा निष्कृय बन्दै आएको बताइन्छ ।
कालिका गाउँपालिकाका उपाध्यक्ष भवानीप्रसाद न्यौपानेका अनुसार उनी रसुवाको तल्लो क्षेत्रमा सांसद बन्ने पहिलो व्यक्ति हुन् । उहाँले भन्नुभयो, “विकासप्रेमी नेता मानिएका उनी विज्ञान तथा प्रविधिमन्त्री मन्त्रालय सम्हाल्ने व्यक्ति बनेका थिए ।”

पाँच पटकसम्म मन्त्री बनेपनि जिल्लाको विकास निर्माणमा कमै मात्र चासो दिएको देखिन्छ । गोसाइँकुण्डको पानी कालिकास्थानमा पु¥याउने सपना देखेका उनले जीवनकालमा त्यो सपना पूरा गर्न सकेनन् । उनका दुई श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here