रसुवागढी जलविद्युत आयोजनाको ४० प्रतिशत काम सम्पन्न

0
164

रसुवा, असोज २९ – रसुवाको गोसाइँकुण्ड गाउँपालिकाको टिमुरेमा निर्माणाधिन रसुवागढी जलविद्युत आयोजनाको ४० प्रतिशत काम सकिएको छ । २०७० माघदेखि निर्माण कार्य सुरु भएको आयोजनाको ४० प्रतिशत काम सकिएको हो ।

आयोजनाका अनुसार सुरूङको काम ४८ प्रतिशत र भूमिगत विद्युतगृहको खन्ने काम ९० प्रतिशत सम्पन्न भएको छ । ४ हजार दुई सय मिटर मुख्य सुरूङमध्ये एक हजार नौँ सय ९० मिटर सुरुङ खनिएको छ । त्यसैगरी, भूमिगत विद्युतगृहको खन्ने काम अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ ।

हेडवर्कसतर्फ कङ्ग्रिट राख्ने काम भैरहेको छ । पानी थिङ्ग्रयाउनका लागि निर्माण भैरहेको तीन ओटा पोखरीको काम २५ प्रतिशत सकिएको आयोजना प्रमुख छबी गैरेले बताए ।

२०१९ डिसेम्बरसम्ममा तीन ओटै युनिटबाट विद्युत उत्पादन हुने आयोजनाले जनाएको छ । उत्पादन भएको विद्युत ‘राष्ट्रिय प्रशारण लाइन’ मा जोड्नका लागि कार्य अगाडी बढेको छ ।

१११ मेगावट क्षमताको उक्त आयोजना चिनियाँ ठेकेदार कम्पनी चाइना इन्टरनेसनल वाटर एन्ड इलेक्ट्रिक कर्पोरेसनले निर्माण गरिरहेको छ ।

आयोजनाका अनुसार विद्युतगृहदेखि चिलिमे हबसम्म प्रशारण लाइन विस्तारका लागि ठेक्का सम्झौता भइसकेको छ । आयोजना प्रमुख गैरेले भने, “१० किलोमिटर प्रशारण लाइन विस्तारका लागि मुडबरी एण्ड जेसी कम्पनीसँग ठेक्का सम्झौता भएर काम अघि बढेको छ ।” आयोजनाबाट उत्पादन भएको १३२ केभि विद्युत प्रशारण लाइनमा जोडिने छ ।

टिमुरेको तातोपानीदेखि गोल्जुङबेंसीसम्म लाइन विस्तार गरी सान्जेन कम्पनीले उत्पादन गरेको विद्युत आयोजनाले चिलिमे हबमा जोड्ने र त्यसपछि प्राधिकरणले थाम्बुचेत–गतलाङ–ग्रे–हाकु हुँदै गोगने–मैलुङ–त्रिशूलीसम्मको राष्ट्रिय प्रसारण लाइन बनाउनुपर्ने सम्झौता रहेको आयोजना प्रमुख गैरेले बताए ।

यो आयोजनाबाट वार्षिक ६१३.८७ गेगावाट विद्युत उत्पादन हुन्छ । आयोजनाले उत्पादन गर्न थालेपछि दैनिक सबा करोड आम्दानी हुनेछ ।

२०१७ अगस्टमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएकोे आयोजना भूकम्प र नाकाबन्दीका कारण समयमा नै निर्माण सम्पन्न गर्न नसकिएको आयोजनाका जनसम्पर्क अधिकृत तेज साउदले बताए ।

भूकम्पपछिको समयमा साइडको विभिन्न स्थानमा पहिरो झरेपछि चिनियाँ ठेकेदारले चार महिना काम रोकेका थिए । निर्माणाधिन आयोजनाको कुल लागत १३ अर्ब ६८ करोड ४२ लाख रुपैयाँ रहेको छ ।

आयोजनामा चिलिमे जलविद्युत कम्पनीको ३३ प्रतिशत, कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ताको १९ प्रतिशत, नेपाल विद्युत प्राधिकरणको १८ प्रतिशत, सर्बसाधारणको १५, रसुवाबासीको १०, संस्थापक सेयरधनी संस्थाका कर्मचारीको ३.५ र ऋणदाता संस्थाका कर्मचारीको १ प्रतिशत लगानी रहने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here