लाङटाङ म्याराथनमा नेपाली सेनाका होमलाल श्रेष्ठ प्रथम

0
332

रसुवा, बैसाख १२ – रसुवाको लाङटाङमा आयोजना गरिएको दोस्रो टान अन्तर्राष्ट्रिय लाङटाङ म्याराथनमा पुरुष तर्फ नेपाली सेनाका होमलाल श्रेष्ठ प्रथम भएका छन् ।

मंगलबार भएको म्याराथनमा ४२ किलोमिटर दूरी तीन घण्टा ३४ मिनेटमा पूरा गर्दै श्रेष्ठ पहिलो भएका हुन् । तीन घण्टा ३७ मिनेटमा दूरी पूरा गरेका सेनाकै राजन क्षेत्री दोस्रो तथा तीन घण्टा ३८ मिनेटमा दूरी पूरा गरेका वेदबहादुर सुनुवार तेस्रो भएका छन् ।

त्यसैगरी म्याराथनमा महिला तर्फ नेपाली सेनाकी सरिता बासी प्रथम भएकी छन् । वासीले ४२ किलोमिटर दूरी ५ घण्टा १३ मिनेटमा पूरा गर्दै पहिलो भएकी हुन् । ५ घण्टा १६ मिनेटमा दूरी पूरा गरेकी सेनाकै रेशु बस्नेत दोस्रो र ५ घण्टा २८ मिनेटमा दूरी पूरा सशस्त्र प्रहरीकी पुष्पा भण्डारी तेस्रो भएकी हुन् ।

म्याराथनमा एक सय दुई जनाको सहभागीता रहेको थियो । १० जना विदेशी र ९२ जना नेपालीले सहभागिता जनाएको प्रतियोगितामा १४ जना महिला रहेका थिए । म्याराथनका विजेताले पहिलो हुनेले एक लाख, दोस्रो हुनेले ७५ हजार र तेस्रो हुनेले ५० हजार रुपैयाँ पुरस्कार पाएका छन् ।

ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ् नेपाल (टान) ले २०७२ सालको भूकम्पले क्षति र्पुयाएको लाङटाङ क्षेत्रमा पदमार्ग सुरक्षित छ भन्ने सन्देश विश्वभर फैलाउन तथा खेलकुद पर्यटनस्थलको विकास गर्न म्याराथन आयोजना गरेको हो ।

पहिलो संस्करणमा हाफ म्याराथन आयोजना गरेको टानले यस संस्करणलाई अन्तर्राष्ट्रिय स्तरको बनाएको हो । गएको वर्ष गोसाइकुण्डबाट रसुवा सदरमुकाम धुन्चेसम्म प्रथम टान गोसाइकुण्ड लाङटाङ म्याराथन आयोजना भएको थियो ।

यो वर्ष लाङटाङ राष्ट्रिय निकुञ्चको क्यानजिङ गुम्बाबाट सुरु भई थाङस्याप घोडा तबेला हुँदै स्याफ्रुबेसीसम्म झण्डै ४२ किलोमिटर म्याराथनको आयोजना गरिएको टानले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here